काठमाडौं । बाग्मती प्रदेशका ३२ स्थानीय तहमा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि त्यसका लागि आवश्यक बजेट छुट्याएको बताइएको छ ।
कोरोना भाइरसका कारण पठनपाठन अस्तब्यस्त भईरहदा शैक्षिक क्षेत्रलाई मध्यनजर गर्दै ती स्थानीय तहहरुले तामाङ भाषाको पठनपाठन शुरूवात गर्ने बताएका छन् ।
भाषा आयोगले गरेको अध्ययनको आधारमा र नेपाल तामाङ घेदुङको अनुरोधमा स्थानीय तहले बजेटको व्यवस्था गरेका हुन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले स्थानीय भाषा अन्तर्गत मातृभाषा पढाउनका लागि बजेट छुटाउँदै आएको बताए ।
जनप्रतिनिधि चुनिएलगत्तै तामाङ भाषा पठनपाठनका निम्ति बजेट पहल गरेको तर विज्ञ र सरोकार वालाहरूले यस कुराप्रति चासो नदिएकाले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
मेरो क्षेत्रमा तामाङ जातिको बाहुल्यता छ र उनीहरूका छोरोछोरी मात्र पढ्ने माध्यमिक विद्यालय छ भन्दै उनले यो वर्षबाट मातृभाषा पठनपाठनका निम्ति तामाङ घेदुङसँग सम्झौता गरेको जानकारी दिए । घेदुङले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने जिम्मा लिएको उनको भनाइ छ ।
कोरोना भाइरसले गर्दा अस्तब्यस्त जीवन शैली र पठनपाठनको क्षेत्रमा असर परेका हुनाले ढिलो भइरहेको उनले बताए । पाठ्यपुस्तक पायौं भने यो वर्ष दुई–चार वटा विद्यालयमा लागू गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार भएको छ । घेदुङले बागमती प्रदेशका १३ वटा जिल्लाका ३२ वटा स्थानीय तहसँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता भइरहेको पनि बताएका छन्।