रावणसँगको युद्दका लागि लंका हिँडेका भगवान श्रीरामसहित बानर सेनाले समुन्द्रमा रामसेतु बनायो । रामसेतुको निर्माणपश्चात लंका प्रस्थान गर्नुपूर्व श्रीरामले शिव अनुष्ठान गरेर शिवलिङ्ग स्थापना गर्ने चाहना व्यक्त गर्नुभयो ।
त्यसबारेमा सेनापति, सल्लाहकार जाम्बन्तलाई भगवान श्रीराम भन्नुहुन्छ– 'हे जाम्बन्त शिव अनुष्ठानको लागि एकजाना यस्तो पण्डितको व्यवस्था गर्नुस् जो गुणले वैष्णब र उपशाकले शैव होस् !'
जाम्बन्त रावणतिर संकेत गर्दै भगवान श्रीरामलाई भन्छन्, ‘हे प्रभु यो जंगलको बरीपरि समुन्द्रतटमा आदिबासी वनबासी, बानर आदि त छन् तर हजुरको ईच्छाअनुसारको पण्डितकर्मको ज्ञाता आचार्य कोही छैनन् । यहाँमात्र होइन पूरै पृथ्वीमा यो दुवै गुणयुक्त व्यक्ति सिर्फ एकजनामात्र छन् तर ति हाम्रो परम शत्रु हुन् !’
भगवान मुस्कुराएर भन्नुहुन्छ, ‘जाम्बन्त शत्रु भए पनि ज्ञान र ध्यानले सुशोभित आचार्य भए अनुष्ठानले पूर्णता अवश्य पाउने छ जाउ एकपल्ट कुरा गर !’
प्रभु श्रीरामको आदेश सिरोपर गर्दै जाम्बन्त रामसेतु तरेर लंका जान्छन । भीमकाय शरीरका बयोवृद्ध जाम्बन्त देखेर लंकामा हाहाकार हुन्छ !
यो खबर लंकापति रावणसमक्ष पनि पुग्छ । रावण जाम्बन्तलाई ससम्मान आफ्नो दरवारमा ल्याउन आदेश दिन्छन् । र सम्मान भावले नमस्कार गरेर आसनमा बसाइ रावण जाम्बन्तलाई आउनको कारण सोध्छन् ।
जाम्बन्त भन्छन्, ‘हे महाराज लंकापति राबण म दसरथपुत्र वनबासी श्रीरामको दूतको रुपमा यहाँ आएको छु । श्रीरामले एउटा ठूलो कार्यसिद्दीका लागि शिव अनुष्ठान गरेर शिवलिंग स्थापना गर्न चाहनु भएको छ । सो अनुष्ठानको लागि हजुरभन्दा योग्य आचार्य पूरै यो लोकमा कोही नभएकोले हजुरलाई श्रीरामको आचार्यको रुपमा निमन्त्रणा दिन म यहाँ आएको छु ।’
जाम्बन्तको कुरो सुनेर महाराज रावण मुस्कुराएर जाम्बन्तलाइ सोध्छन, ‘हे जाम्बन्त त्यो ठूलो कार्य जसको सिद्दिको लागि यो अनुष्ठान हुदैछ के त्यो कार्य लंका विजय हो ?’
जाम्बन्त मुस्कुराएर उत्तर दिन्छन– 'हो महाराज !'
भूत, वर्तमान र भविष्यको ज्ञाता रावण जो तीनै लोकका स्वामी साक्षत विष्णु अवतार रामले आफूलाई आचार्य बनाउने प्रस्ताव पठाएको, अझ आफ्ना परमपुज्य शिवको अनुष्ठान भएकोले त्यो अवसर गुमाउन चाहँदैनन् ।
रावण जाम्बन्तलाई प्रस्ताव स्वीकार भएको जानकारी दिन्छन् ।
आचार्यको टुंगो लागेपछि जाम्बन्तले राबणलाई अनुष्ठानलागि चाहिने सर सामानको लागि सोध्छन् ।
उत्तर दिँदै रावण भन्छन्– 'यदि यजमान घरमा छैनन् भने शास्त्रअनुसार कार्यको सम्पूर्ण सर सामानको जोहो आचार्य स्वयंले गर्नु पर्ने विधि भएकाले यजमानलाई नुहाईधुवाई गरेर तयारी अवस्थामा बस्न भन्नु म सम्पूर्ण सरजमको व्यवस्थासहित आउने छु ।'
यति भनेर रावणले जाम्बन्तलाई विदाबारी गरी पठाउँछन् ।
अनि दरबारमा अनुष्ठानका लागि चाहिने सम्पूर्ण सामानको तयारी गर्न आदेश दिइ रावण एउटा रथमा सवार भएर सीता रहेको अशोक वाटिकातर्फ जान्छन् ।
र, बढो आदरभाबले नमस्कार गरेर सीतालाई भन्छन्– ‘हे देवी हजुरका पति राम त्यो समुद्रपारी लंका विजयको लागि शिव अनुष्ठान गर्दैछन् । त्यो अनुष्ठानको लागि उनले मलाई आचार्य चुनेका छन् । जब यजमानले घरबाहिर कतै अनुष्ठान गरे त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण सरजामको जोहो आचार्य स्वयमले गर्नुपर्ने हुन्छ । त्यो अनुष्ठानको तपाईं अर्ध यजमान भएका कारण तपाईंको अनुपस्थितिमा त्यो अनुष्ठान हुन सक्दैन । त्यसैले म तपाईंलाई त्यो अनुष्ठानमा जानका लागि जानकारीसहित आग्रह गर्न आएको छु ।’
रावण सीतालाई फेरि भन्छन्– ‘तर तपाईं त्यहाँ गए पनि मेरै कैद भएको अनुसारले चल्नुपर्ने जानकारी गराउँदछु ।’
यति खबर सुनेपछि सीताले ‘हुन्छ’ भन्ने स्वीकृति दिँदै आचार्य रावणलाई प्रणाम गर्छिन् । अनि रावणले ‘सदा सौभाग्यवती भव’ भनेर आशिर्वाद दिन्छन् ।
सम्पूर्ण सरजामको जोहो गरेर पण्डितसहित सीतालाई पुष्पक विमानमा चढाई रावण अनुष्ठानका लागि समुद्रपारी तटमा पुग्छन् ।
आफ्नो निमन्त्रणा सहर्ष स्वीकार गरी आएका रावण लगायतका पण्डितहरुको स्वागत गरी यजमान भगवान श्रीराम अनुष्ठान सुरु गर्न भन्छन्, तब आचार्य रावण मुस्कुराएर सोध्छन्, ‘यजमान (राम) ! अर्ध यजमान (सीता) खै ?’
आचार्य रावणको कुरा सुनेर यजमान श्रीराम मुसुमुसु हास्नुहुन्छ ।
रामको मुस्कानको तात्पर्य बुझेर आचार्य रावण भन्छन्, ‘हे यजमान ! विधिअनुसार कुमार, विदुर वा श्रीमतीले परित्याग गरेको अवस्थाबाहेक अर्ध यजमान बेगर अनुष्ठान सुरु हुन सक्दैन । तर आफ्नो यजमान घरबाहिर भएको अवस्थामा अनुष्ठानको सम्पूर्ण सरजमको जोहो आचार्य स्वयमले गर्नुपर्ने भएकाले मैले तपाईंकी श्रीमती पनि ल्याएको छु । समुद्रतटमा पुष्पक विमानबाट सम्पूर्ण सरजम र अर्ध यजमान चाँढो लिएर आउन भन्नुहोस् । शुभ लगनमा अनुष्ठान सुरु गर्नुपर्छ ।’
अनुष्ठानको सम्पूर्ण सामान र माता सीता आइपुगेपछि आचार्य रावण अनुष्ठान सुरु गर्न भगवान शिवको शिवलिङ्ग राख्न लगाऊँछन् । तर त्यतिबेलासम्म शिवलिङ्ग लिन गएका हनुमान आइनपुगेकाले त्यही एउटा ढुंगास्थापना गरी अनुष्ठान सुरु गरिन्छ ।
अनुष्ठानको बीचमा हनुमान शिवलिंग लिएर आइपुग्छन् र श्रीरामलाई सो शिवलिङ्ग राख्न अनुरोध गर्दछन् । तर श्रीरामले अनुष्ठान सुरु भइसकेको हुनाले होस् भन्ने भाव व्यक्त गर्नुहुन्छ ।
तर हनुमानले अलि जिद्दी गरेपछि श्रीरामलाई हनुमानमा बलको घमण्ड आएको जस्तो भान भएर स्थापना गरिएको शिवलिङ्ग झिकेर नयाँ शिवलिङ्ग राख्न अनुमति दिनुहुन्छ ।
हनुमान उक्त स्थापित शिवलिङ्ग उखेल्न खोज्छन् तर हल्लाउन पनि सक्दैनन् अनि रामले हनुमानलाई त्यो शिवलिङ्ग पनि छेउमा स्थापना गर्न लगाउनुहुन्छ । उक्त शिवलिङ्ग हनुमानेश्वरको नामले प्रख्यात छ ।
विघ्नरहीत तवरले आचार्य (पुरोहित) रावणद्वारा श्रीरामको अनुष्ठान पूर्ण हुन्छ ।
विधिपूर्वक अनुष्ठान सम्पन्न भएपछि आचार्यलाई दक्षिणा दिनुपर्ने समय आउँछ । त्यसबखत आचार्य रावणलाई दक्षिणा दिनका लागि श्रीराम सँग केही पनि हुँदैन ।
त्यसपछि श्रीराम बढो संकोचपूर्ण भावले रावणलाई दक्षिणाको लागि आफूसँग अहिल्यै केही नभएको भन्दै भविष्यमा दिन योग्य भएपछि दिनेगरी दक्षिणा स्वीकार गरिदिन आग्रह गर्नुहुन्छ ।
आचार्य रावण पनि मुस्कुराउदै श्रीरामलाई आफू स्वर्णलंकापति भएकाले आफूलाई केही नचाहिने बताउँछन् । तर, त्यसबखत रावण श्रीरामलाई एउटा वाचा गराउन भने भुल्दैनन् ।
दक्षिणाको रूपमा रावण श्रीरामलाई आफ्नो इच्छा सुनाउँछन् । रावण श्रीरामलाई जब आफ्नो अन्तिम समय हुन्छ त्यसबखत उनी (श्रीराम) आफ्नो समिपमा हुनुपर्ने बाचा गराउँछन् । श्रीरामले पनि रावणको कुरामा सहमति जनाउनुहुन्छ ।
आदरभावले यजमान रामले आचार्य रावणलाई दण्डवत गर्छन् । आचार्य रावण यजमान रामलाई लंकाविजयी भव भनेर आसिर्वाद दिई सीता लिएर पुष्पक विमानमा चढेर लंका प्रस्थान गर्दछन् ।
०००
यसरी रावण आचार्य अनि राम यजमान भएर अनुष्ठान गरेर स्थापना गरेको रामेश्वरम ज्योतिर्लिंग हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो ।
यो रामेश्वरम मन्दिर तमिलनाडुको रामनाथपुरममा अवस्थितछ । यो तिर्थस्थल हिन्दूहरूको चारधामहरू मध्ये एउटा हो । र यहाँ स्थापित ज्योतिर्लिंग बाह्र शिव ज्योतिर्लिंग मध्ये एउटा मानिन्छ !
(तामिल कवि चक्रवर्ती कंबनद्वारा लिखित रमावतारम (रामायण) दक्षिण भारतमा वाल्मिकी रामायण र तुलसी रामचरित् मानसभन्दा लोकप्रीय र प्रमाणिक रामायण मानिन्छ ।
वैष्णव र शैव दुवैको आस्थाको उत्कृष्ट समायोजन पाइएको यस रामायणमा वाल्मिकी रामायण र रामचरितमानसमा नभएका केही प्रसँग पनि समाबेस गरिएको पाइन्छ । तिनै प्रसँग मध्ये रामेश्वरम ज्योतिर्लिङ्ग स्थापनाको एउटा प्रसंगको नेपाली अनुबाद याहाँ प्रस्तुत गरिएको हो ।)