कोरोना महामारीको करिब ६ महिना यस्तो समय बन्दै छ कि जिन्दगीमा यस्तो अब कहिल्यै नहोस् । यसरी बाँच्न कसैलाई नपरोस् । जीवन यसरी रोकिएर त कहिल्यै नबसोस्, आदि इत्यादी ।
कोरोनाको महामारीले सबैलाई दिक्क लागेको छ । जिन्दगी निराशनिराश बनिरहेको छ । जता हेरे पनि भत्किएको, बिग्रिएको मात्र छ । आफ्नै जिन्दगी हेऱ्यो भने त भग्नावशेष भेट्न पनि गाह्रो छ । जिन्दगी नै छैन, होइन जस्तो लाग्छ ।
कहिले त यस्तो पनि लाग्छ, अब त बाँच्न सकिँदैन, हाँस्न सकिँदैन । बाँच्ने, हाँस्ने दिन सकिइसके । अब फर्किएर आउँदैन । कतिले त हार मानेर कहिल्यै फर्कन नमिल्ने बाटो पनि तताइसकेका छन् । कति त त्यतै लागौँ कि भनेर सोच्दैछन् ।
तर, त्यसरी जीवन फालेर त के पाइन्छ र ? जीवन रहे न बाँकी कुरा हुन्छ । यसैगरी आफैँलाई सम्झाउन साह्रै गाह्रो परिरहेको छ ।
आफैँलाई पनि सम्झाउनु कति, कसरी ? सधैँ ‘अब त ठीक होला, भोली त राम्रो हुन्छ’ भनेको पनि धेरै दिन भइसक्यो । महिना बितिसक्यो । अब त बर्ष बित्न पनि लागिसक्यो । यस्तै हुने हो भने केही बर्ष अझै यस्तै हुने हो कि ? के भन्न सकिन्छ र ? तर समस्या चाहिँ त्यो भन्दा अघि के भइसक्ला भन्ने हो ।
खान लाउनको समस्याले कैयन् सडकमा पुगिसकेका छन् । कमाइ छैन । तर खर्च भने सास फेर्न पनि चाहिएको छ । अनि त कसरी चल्छ जिन्दगी । होइन र ? यस्तै भइरहेको छैन् र तपाईंलाई ? छ नि है ? गाह्रो छ है ?
तर पनि हरेश नखाइहाल्नुस् न । म आफैँलाई यही भनेर बाँचिरहेको छु । तपाईंलाई पनि भन्छु । अझ धेरै बाँच्न बाँकी छ । रात लामो होला, अन्धकार अझ गाढा होला । तर पनि बिहानीको घाम उदाउने छ । उज्यालो अवश्य हुनेछ । पर्खिनु मात्र छ हामीलाई ।
भन्न त भन्छु तर जे हुनुपर्थ्यो, जस्तो सोचिएको थियो जिन्दगी, त्यस्तो नहुँदा भने मन कहाँ मान्दो रहेछ र ! अनि मन बुझाउन केही तर्कना गरिरहन्छु । यो लेख त्यही तर्कनाहरूकै उपज हो । यी यावत् समस्यालाई भुल्ने एउटा वहाना हो, यसबाट भाग्ने एउटा बाटो मात्र हो । खल्ति टाट पल्टेको छ । कमाइ छैन । यही लेख पढ्न पनि कैयनलाई दुःख छ, लामो कठिन बाटो पार गर्नु परेको छ ।
र पनि सोच्नुस् त, यदि लकडाउन नभइदिएको भए, कोरोना नआएको भए, तपाईं के गर्दै हुनुहुन्थ्यो होला ? यो लकडाउनको करिब ६ महिनाको अवधिमा कति खर्च गर्नुहुन्थ्यो होला ?
भनिहालेँ खल्ती टाट पल्टिएको छ र पनि हिसाब त गर्दिउँ न कति खर्च गर्न सक्थ्यौ ? त्यो खर्च नगर्नु भनेको बचत गर्नु हो । बचत गर्नु भनेको धनी हुनु हो । भनेको पत्याउनु हुन्न होला तर हामीले हजारमा मात्र होइन यो लकडाउनले गर्दा कम्तिमा लाखभन्दा माथि बचत गरेका छौँ । पत्याउनु भएन ? ल जाउँ न त हिसाब किताबमा ।
सुरु गरौँ दिनहुँ यताउता गर्दा लाग्ने खर्च बाट । आफ्नै साधन हुने त आफ्नै साधनमा हिँडिहाल्छन् तर नहुनेहरू त बसमा झुण्डिनलाई पनि पैसा तिर्नुपर्छ । हुन त सहरमा सधैँ झुण्डिने नै त हो । सिट पाउनु, आरामसँग यात्रा गर्न पाउनु भनेको त भाग्य हो । त्यस्तो भाग्य थोरैलाई मात्र हुन्छ । छोडौँ भाग्यका कुरा । हामी आफ्नै कुरातिर लागौँ ।
प्रायः जसो हामी हरेकदिन बाहिर निस्कन्छौँ । काम परे त निस्किहाल्न परिहाल्यो । काम नपर्दा पनि बाहिर डुलिरहेका हुन्छौँ । एकचोटी निस्कँदा जाँदा र आउँदा गरेर दुईपटक बस वा अरु साधन चढ्छौँ । एकचोटी चढ्दा पन्ध्र रुपैयाँ गइहाल्छ । दुईचोटीको तीस रुपैयाँ । मानौँ हामी दिनमा चारचोटी बस वा माइक्रोमा झुण्डिन पुग्छौँ र साठ्ठी रुपैयाँ सक्काउँछौँ । महिनामा चार दिन बिदा राख्यौँ भने पन्ध्र सय साठ्ठी बस भाडामा खर्च गर्छौँ । छ महिनामा नौ हजार तीन समय साठ्ठी हुन्छ । यसमा कार्ड हुनेहरूले छुट पाउलान्, नहुनेहरूले अझ बढी पनि तिर्नु परेको हुन सक्छ । अझ बस/माइक्रो बाहेक ट्याक्सी चढ्ने वा टुटल, पठाओ प्रयोग गर्नेहरू पनि हुन्छन् । उनिहरूको खर्च योभन्दा धेरै हुन्छ । अझ एक किलोमिटरको लागि पनि साधन चढिहाल्ने तपाईंको वानी छ भने त खर्च त्योभन्दा धेरै हुने भइहाल्यो । त्यो तपाईं हिसाब गर्नुस् न है ।
यो त साधन नहुनेहरूको हिसाब भयो । साधन हुनेहरू रिसाउन थाल्नुभयो होला, मेरो हिसाब मिलेन भनेर । पख्नुस् न, आउँदैछु । साधन हुनेहरूले हप्तामा एक हजारको तेल हाले भने महिनामा चार हजार सक्छन् । छ महिनामा चौबिस हजार । अझ वासिङ भन्यो, मोबिल भन्यो । हावा पनि हाल्नु पर्ला पाङ्ग्रामा । खर्च अझ बढ्न सक्छ । धेरै कुदिरहनेहरूको खर्च अझ् बढ्ने नै भइहाल्यो । दिनहुँ हिड्दा मिनेटअनुसार लाग्ने पार्किङ शुल्क तिर्न परिहाल्यो । अझ नो पार्किङमा पार्क गर्दा तिर्न पर्ने जरिवाना । भो, यो गैर कानुनी कुराको हिसाब नगरौँ ।
अब कुरा गरौँ हाम्रो राष्ट्रिय पेय पदार्थको । अर्थात् चियाको । हुन त राष्ट्रिय पेय पर्दाथ चियालाई अरुले नै विस्थापन गरिसकेको भन्ने कुरा चोकचोकमा साँझ बिहान चर्चा हुन थालिसकेको छ तर पनि अहिलेसम्म आधिकारीक रुपमा घोषणा नभएकाले अनि चियापान भनेर विभिन्न कार्यक्रम भइनैरहेकाले मैले चियालाई नै राष्ट्रिय पेय पदार्थको रुपमा लिएको छु । (तपाईं आफैँलाई पनि हेर्न सक्नु हुन्छ । चिया वा अरु नै के रुचाउनु हुन्छ/धेरै प्रयोग गर्नु हुन्छ ? लोकतन्त्रदेखि गणतन्त्र ल्याइसकेका तपाईंलाई मैले निर्णय गर्ने अधिकारबाट बञ्चित गर्न मिल्दैन, सक्दिन ।)
दिनमा बिहान कम्तिमा पनि एक कप चिया त सबैले खाइहाल्छन् । दिउँसो एकपटक अनि साँझतिर अर्को एकपटक । जम्माजम्मी तीन कप चियाका गिलास रित्याइरहनु भएको छ । एक कप चियाको मूल्य मानौँ तीस रूपैयाँ । कहीँ बीसमै पनि पाइएला, कहीँ चालिस पचास सय पाँच सय .... यहाँभन्दा भनिन् । बीसमा खाइरहनेहरू ढल्लान् फेरी । मैले दशमै खाइरहेको छु भनेर फुर्ती लगाउनलाई पनि बन्देज छैन है ।
दिनमा तीन कपको नब्बे रुपैयाँ । महिनामा सत्ताइस सय । छ महिनामा सोह्र हजार दुई सय ।
चिया भनेर दूध चिया मात्र हुँदैन । फिक्का चिया, कागती चिया रे, चिनीविनाको चिया रे, अझ अरु त के के हो । धेरैवटा महिना भइसकेछ, मैले त मेनु पनि बिर्सिसकेछु । तपाईंलाई याद होला, तपाईं आफैँ सम्झिनुस् अनि जोडघटाउ गर्नुस् है ।
चिया बनाउन के के चाहिन्छ ? कति पर्ला त चियाको लागत मूल्य ? फिक्का चियाकै कुरा गरौँ न है त । पानी त चाहिहाल्यो । पानी पनि बोतलको के होला र ? जारको पानी नै प्रयोग हुन्छ, अधिकतम त । त्यो पनि एक्काइ रूपैयाँवाला बीस लिटर वाला जारको । अर्थात् एक लिटरको एक रूपैयाँ । एक लिटर पानीको करिब चार कप चिया बन्छ । कही त कप पनि कति सानो हुँदो रहेछ भने मज्जाले दुई चोटी सुरुप्प पार्ने हो भने चिया सकिँदो रहेछ । उता चियाका अम्मली भनाउँदाहरू आधा घण्टासम्ममा पनि त्यति चिया सक्दा रहेनछन् । के अम्मली भन्नु ? छिटो, धेरै खाने पो अम्मली । होइन र ? त्यस्तो कपमा त एक लिटर पानीले नौ कम चिया बन्छ, बनाउँछन् ।
दूध चियाको पनि सँगसँगै हिसाब निकालिहालौँ न त हो । एक लिटर दूधबाट पनि त्यस्तै मिश्रण बनाउँछन् । पानी पनि थप्छन् । खाँटि चिया त सम्झने मात्र हो । दूध अलि महङ्गो छ । पानीको भन्दा तीन गुणा । चियापत्ती बरु कडा हाल्छन् र अझ महङ्गो पनि छ । तर बिहानदेखी एउटैले काम चलाउँछन् । त्यस्को लागत पनि धेरै पर्दैन । अरू केही वास्ना बढाउन प्रयोग गरिन्छ । उमाल्नलाई ग्याँस चाहियो । अहिले त बिजुली प्रयोग गऱ्यो भने अझ सस्तो हुन्छ भन्छन् विद्वानहरू । यसरी समग्रमा लागत निकाल्ने हो भने पाँच/सात रूपैयाँभन्दा बढी पर्दैन । तपाईंले कति तिर्दै हुनुहुन्छ । विचार गर्ने जिम्मा पनि तपाईंलाई नै छोडिदिएँ मैले ।
कफी
अहो! कुरैकुरामा म त अर्कै बाटो लागिसकेछु । चिया बनाउनै पो थालिसकेछु । यसरी हिसाब देखाइदिँदा फेरी सम्बन्धितव्यक्तिहरू मलाई चिथोर्न आउनान् । हुन त मलाई केही फरक पर्दैन । सत्य बोल्न डराउनु हुन्न, हजुरबा भन्नुहुन्थ्यो । तर हजुरबा के पनि भन्नुहुन्थ्यो भने आफ्नो बाटो चाहिँ छोड्नु हुँदैन । अब लागौँ आफ्नै बाटोतिर ।
चियाको कुरा गरिसकेपछि चुरोट त छुटाउनै भएन । बिहानै, दिउँसो हुनु अघि, दिउँसतिर अनि साँझमा गरेर सामान्यतया चुरोटेहरू चुरोट जलाउँछन् । एउटा खिल्लीको बीस रूपैयाँले दिनमा सय सक्काउँछन् । महिनामा तीन हजार । छ महिनामा अठार हजार । हुन त भिन्नभिन्न चुरोटको भिन्नभिन्न दर होला । ठाउँ अनुसार पनि फरक पर्ला । अझ प्याकेट नै बोकेर हिड्नुभयो भने खर्च कम होला । हिसाब तलमाथि हुन पनि सक्छ । त्यो त तपाईंमा नै निर्भर हुने कुरा भयो नि, हैन र ?
हुन त म त नखाने मान्छेलाई यसबारे त्यति धेरै थाहा छैन । तर कहिलेकाही चिया पसल भनेर खोलेका चुरोट भट्टीमा पुग्दा मान्छेहरू आफैँले पैसो तिरेर चुरोट किन तानेका होलान् भनेर सोचि चाहिँ रहन्छु । जताततै धुँवैधुँवा हुन्छ । त्यही धुँवा खाए पनि त भयो नि । आखिर धुँवा नै खाने त हो ।
चिया चुरोटसँगै छुटाउन नहुने कुरा कफी हो । चियाको सट्टा कफी पिउनेहरू पनि छन् । दुवै नछोड्नेहरू पनि हुन्छन् । कफीका पनि अम्मली हुन्छन् । कफीका पनि दर भिन्नभिन्न हुन्छन्, ठाँउअनुसार, कफीको प्रकृतिअनुसार । न्यून पनि पचासभन्दा कममा पाइँदैन । त्योभन्दा माथि जति पनि पर्न सक्छ । खर्च चियाकोभन्दा धेरै हुन आउँछु । कम्तिमा पनि दुईचार हजार त धेरै सकिन्छ । मान्छे राती अवेर सुत्छन् । अनि निन्द्रा भगाउने वहानामा बिहान कफीको ओभरडोज लिन्छन् । ट्याममा सुते त खर्च जोगिन्थ्यो होला नि है ? हुन त यो लकडाउनमा जोगिएकै छ ।
अब कुरा गरौँ खाजाको । बिहान एक पटक, दिउँसोतिर एक पटक । सामान्यतया हामीले खाजाको लागि यस्तो तालिका बनाउँछौँ । सामान्य खालका अरु साथी नखोजी खाजा खायौँ भने एक बसाईंमा सय त सकिन्छ । हुन त दिनमा दुई बसाईं मात्र पनि हुँदैन । छिनमै भोक लाग्ने बानी हामी धेरैलाई लागि सकेको छ । कहिले त साथीले ‘जाउँ न ओइ’ भन्दा नगई सुखै पाउँदैनौ । भोक नलागे पनि खान बाध्य हुन्छौँ ।
अझ नयाँ नयाँ ठाँउमा डुल्ने (धेरै जस्तो चाहिँ फोटो खिच्न कै लागि) वानी छ भने त खर्च त, अहो !, हिसाब निकालुँ कि ननिकालुँ ?
अहिलेसम्ममा तपाईंले थाहा पाइसक्नु भयो होला नि, म हिसाबमा तगडा छु भन्ने कुरा । कुरो उठिसकेपछि हिसाब ननिकाल्ने भन्ने त हुँदैहुन्न । मानौँ तपाईंहरू चार जना साथीहरू केही खान, हैन हैन, केही सुघ्न त्यस्ता ठाँउ जानुभयो । ति कुरा सुघ्नु अघि आठदश ओटा फोटो खिच्छौँ । त्यो पनि एउटै एङ्गलबाट, सबै उस्तैउस्तै । अनि सामाजिक सञ्जालमा राखिहाल्छौँ ।
थोरै मात्र खाने भएपछि स्वाद त त्यसै पनि मिठो हुने भइहाल्यो । त्यहीभएर यस्तो खाजाको लागि हुने भेटघाट सहरमा एकदम बाक्लिएको छ । केहीपटक म पनि यस्तो भेटघाटमा पुग्न बाध्य भएको छु । कारण अरुको मन राख्दिन । हो, मलाई यस्तो फुर्माइस मन पर्दैन । गफै गर्न त एउटा कुनै चौरमै भेटे पनि भइहाल्यो नि ।
एउटा अनुभव भन्दिहालौँ न त है । चारजना भेटभएका थियौँ । चारवटा ठूल्ठूला गिलासमा पानीमा अनेकन कुरा मिसाइएका कुरा साथीहरूले मगाउनु भयो । त्यहाँ के के थियो, त्यसको नाम के थियो मलाई त त्यो बेला पनि थाहा भएन । अहिले पनि थाहा छैन । स्वाद पनि बिर्सिएँ, भनिहालेँ मिठो हुन्छ । मिठो नै थियो । त्यत्ति मात्र थाहा छ । अरु केही जस्तै, भुटेको आलु, च्याउको परिकार थियो । खै नाम के के थियो, त्यो पनि बिर्सिएँ । भन्दिहालौँ, त्यो पनि मिठो थियो । गफसफ पनि भयो, आनन्दले पनि खायौँ । अनि अन्त्यमा बिल मगायौम् । बिल आयो अठार सयको । साथीहरूले त के के को कतिकति रहेछ भनेर पनि हेरेनन् । मैले भने हेरेँ ।
त्यसमा सर्भिस चार्ज अनि त्यसमाथि भ्याट भनेर पनि थपिएको रहेछ । कर तिर्नु त राम्रै हो । तर यहाँ ढाड सेकिएको पक्कै हो । बसेको पनि पैसा लाग्यो होला, सायद । अझ त्यसमाथि साथी दयालु, टिप्स पनि दिनुपर्छ भनेर सुझायो । समूहमा हिँडेपछि दिन्न भन्न पनि नमिल्ने । फजुल खर्च त्यसैत्यसै थपिने । बेलुका साथीले सामाजिक सञ्जालमा फोटो राखेछ । त्यो हेरेपछिभने मन केही शितल भयो ।
यस्ता खर्चहरू अहिलेलाई नजोडी एक बसाईंको एक सयका दरले हिसाब गरौँ । दिनमा दुई सय । महिनामा तीन हजार । छ महिनामा अठार हजार । फजुलमा रित्तिरहने खल्तिलाई न्याय दिन भए पनि तपाईंले भने यस्ता खर्चको हिसाब गर्नुस् है । नत्र हिसाबले पनि उस्लाई अन्याय गऱ्यो भनेर मलाई गाली गर्न सक्छ । मलाई गाली नखुवाउने जिम्मा तपाईं कै ।
पानीपुरी, चटपटे, आइसक्रिम, चिसो भन्दै गरिने खर्चको हिसाब निकाल्नै मन लागेन । कति सकिन्थ्यो कति ? भनिसाध्य छैन । छ र ? छ भने निकाल्नुस् है ।
त्यस्तै, खानाको पनि हिसाब गरिन । प्रायःले घरमा नै खाने गर्नु हुन्छ । यदि बाहिर खानुहुन्थ्यो र अहिले त्यो खर्च जोगिएको छ भने हिसाब गर्नुहोला । यसमा यत्ति भनेँ ।
अब लागौँ लगाउने कुरातिर । हप्ताहप्तामा सपिङ जाने भनेर हिड्ने गर्नुहुन्थ्यो होला । त्यो पूर्ण रुपमा ढप्प भएको छ । धेरैजसोले यो समयमा सपिङ गर्नु भएको छैन । पुराना लत्ताकपडाले जीवन धानिरहनु भएको छ । पहिलेजसरी लुगा पुराना भइसकेका छैनन् । फाल्न पर्ने भएको छैन । नयाँ नथपिदा, पुराना फाल्नु नपर्दा खर्च त कति जोगियो कति नि ! सोलोडोलो हिसाब गर्दा महिनामा पाँच हजार खर्च गर्नुहुन्थ्यो भने छ महिनामा तीस हजार त त्यसकै लागि चाहिन्थ्यो । यहाँ थपिहालौँ, एकजोर जुत्ता पनि पाँच हजारभन्दा धेरै पर्ने पनि हुँदो रहेछ । अझ एक थान पाइन्टकै त्यतिले नआउँदो रहेछ ।
श्रृंगारका सामानको कुरा गर्दा महिला मित्रहरूको त हजारौँ खर्च हुनबाट जोगिएको छ । अनुहारमा लगाउने सामान सम्झनुस्, गन्नुस् त कतिवटा छ । भो भन्न परेन, हिसाब मात्र निकाल्नुस् । अनुहार सजाउन धेरै खर्च हुन्छ नि है ? कपाल नै मात्र मेन्टेन गर्न स्याम्फू, स्याम्फू लगाउनु अघि र लगाइसकेपछि लगाउने अरु के के चाहिने रे । अझ समयसमयमा रङ्ग हालिरहनु पर्ने । नङमा लगाउने पालिस बेग्लाबेग्लै, दिनपिच्छे भिन्नभिन्न । सक्छ र कसैले ? अहँ, सक्दैन । अझ पालिस मेट्ने अर्को थरी हुँदो रहेछ । अझ अरु के के हुन्छ, यसमा मेरो ल्याकत छैन । खर्च पनि कति हुन्छ भन्न सक्दिन । ब्यूटिपार्लर शिर्षकमा हुने खर्च त म के गरी जानूँ र ?
बरु केटाहरूले गर्ने केहि खर्च बारे हिसाब निकालिहालौँ । केटाहरूले हप्ता बिराएर स्टाइलिस हुनलाई कपाल र दाह्री मिलाउँछन् । होइन भने अरु खर्च खासै हुँदैन । मानौँ दुई हप्तामा त्यसको लागि एक सय साठी खर्च गर्दा महिनाको तीन सय बीस । छ महिनामा एक हजार नौ सय बीस । छ महिनामा छब्बिस ओटा हप्ता हुन्छ । यहाँ चौबिस ओटा मात्र हप्ताको हिसाब आयो । हप्ताअनुसार हिसाब गर्दा यसरी दुई हप्ता छुटिरहेका हुन्छन् । तपाईंलाई सम्झाइदिएको मात्र । अब हिसाब त गरिहाल्नु हुन्छ नि । ए अँ, कपाल रङ्गाउने खर्च पनि हुन्छ कोहीकोहीमा । ज्यानमा अत्तर उडाउने पनि हुन्छन् है ।
खाने लाउने हिसाब पछि अब लागौँ मनोरञ्जनमा हुने खर्चको हिसाबतर्फ । मनोरञ्जनको मुख्य माध्यम भनेको हामीकहाँ सिनेमा घर छ । प्रायः मान्छे हरेक हप्ता त्यहाँ पुग्दा रहेछन् । एकचोटीमा कम्तिमा पाँच सय सकिँदो रहेछ । कति ठाँउमा त टिकटको नै त्यति पर्छ । हलभित्रको खाजाको त कुरै बेग्लै भयो । तर सामान्य ठाँउमा फिल्म हेर्न जाँदा टिकट र अलिकति पपकन खानलाई करिब पाँच सयले पुग्दो रहेछ । अहिलेलाई पाँच सयले नै पुऱ्याउँ है । हप्तामा पाँच सय । महिनामा तीन हजार । छ महिनामा अठार हजार । अझ अतिरिक्त थपिन आउने दुई हप्ताको हिसाब छुट्टै भो ।
ल तपाई सिनेमा घर जानु हुन्न रे, थिएटर त जानुहुन्छ होला नि । ल त्यहाँ पनि जानुहुन्न रे, किताब किनेर त पढ्नु हुन्छ होला नि । ल किताब पनि किनेर पढ्नु हुन्न रे, विदाको दिन यस्सो वरपर मानव वस्तीबिचमा घुम्ने ठाँउतिर पुग्नु हुन्छ होला नि । केही न केहीमा खर्च त हुन्छ के । होइन भने यस्ता शिर्षकमा पनि खर्च गर्ने गर्नुस् है । किताब किन्नुस्, पढ्नुस् । थिएटर तिर गएर नाटक हेर्ने वानी गर्दा पनि भो । मज्जा हुन्छ थिएटरको वातावरण ।
घुम्ने कुरा गर्दा हाइकिङ र नाइट स्टे को हिसाब त छुटाउनै हुन्न । सहरमा यो फस्टाएको कुरा हो । मानौँ, महिनामा तपाईं दुई पटक ति यात्रामा निस्कनु हुन्थ्यो । जान्थिन रे ? अरे यार, कति घरमै थुनिएर बस्नु भएको ? ल एकचोटी त जानुहुन्थ्यो । मान्नुस् यति त । घुम्न पनि पर्छ । एकचोटीमा दुईतीन हजार खर्च भएपनि छ महिनामा त पन्ध्रबीस हजार खर्च भइनै हान्छ ।
अँ, लङ टुर पनि जान्छन् नि । अझ यो त घुम्ने मौसम थियो । रारा, मनाङ, मुस्ताङ, कालिञ्चोक, तिलिचो, एबिसी, आदी आदी । उसो त देश बाहिर पनि गइन सकिन्छ । नेपाली ज्यादा घुम्न थालेका छन् । तथ्याङ्कले यस्तो भन्छ । छ महिनामा एकपटक मात्र लङ टुर हान्नु भयो भने पनि बीस पच्चिस हजार त सकिन्छ ।
अफिसेहरूको वीकइन्ड पार्टी भनेर छुट्टै खर्च हुन्छ । ग्यादरिङ भन्दै पनि खर्च भइरहन्छ । क्लब जाने भन्ने पनि हुन्छ । जे भने पनि कुरा एउटै हो, दारुपाटी । दारुको भेराइटि मेरो बुझाइभन्दामाथि छ । त्यसको लागत त, भो मेरो ल्याकतले भ्याउँदैन । हिसाब आउँछ भनेर हिसाबको गफ जोत्न पनि त भएन नि । फेरी गफले मलाई नै बगाउला र म बेपत्ता भएँ भने । यस्तो नगरौँ । तपाईंहरू खर्च गर्नेलाई नै थाहा होला यसको हिसाबकिताब ।
हिसाब जोड्दै हुनुहुन्छ नि ?? थाहा पाउनु भयो नि कति खर्च हुँदो रहेछ छ महिनामा ।
भो भो, अब तपाईं जोड्न तिर नलाग्नुस् । मैले जोडिसकेको छु, लाखभन्दा माथि पुगिसकेको छ । यत्ति नै हो मैले जानकारी दिने, पूरापुरको लागि आफैँ जोड्नुस् । मोवाइलमा क्यालकुलेटर भन्ने पनि हुन्छ त्यो खोल्नुस् । कापीमा हरेक शिर्षक लेख्दै जोड्दै जानुस् । यसो गर्नाले हिसाब छुट्दैन । खर्चको विवरण राख्ने, र के कति खर्च हुँदैछ भनेर हेर्ने वानीले खर्च नियन्त्रणमा सघाउ पुऱ्याउँछ भनेर यससँग सम्बद्ध विज्ञहरू भन्दछन् ।
अझ कैयन् शिर्षकमा तपाईंको खर्च भइरहेको हुन्छ । यताउता हिड्दा चकलेट चुईगम चपाइरहनु भएको हुन्छ । सडककिनारमा बसेकालाई दानदक्षिणा दिने तपाईंको त्यो कमलो हृदयले पनि खर्च गराइरहेको हुन्छ । अझ सहरमा त भिडभाडको मौका छोपेर पाकेट मार्नेहरूको भिड नै छ । घरैबस्दा त्यो खर्च हुनबाट जोगिएको छ ।
मोवाइलमा हुने खर्च पनि मैले जोड्न अल्छि गरेँ । तपाईं कहिले त बोल्दाबोल्दै मिनेट हुँदै घण्टा नै बितेको पत्तो नपाउने हिसाब तपाईं नै निकाल्नुस् । कति त अदृश्य हुन्छ । कहाँ कसरी खर्च भयो पनि थाहा हुन्न । कति त एकदुई रूपैयाँ त हो, के फिर्ता लिनु र ? भनेर भइरहेका हुन्छन् । खर्च नै नभएपछि त्यो पनि जोगिएको छ । इयरफुन (उप्रान्त कानेतार भनिनेछ ।) छ/छ महिनामा फेर्नु पर्थ्यो । मैले त बिग्रिएको कानेतारले काम चलाइरहेको छु । एकपट्टी मात्र बज्दछ, त्यो पनि कहिले त बज्दैन । कानेतारको प्रयोगमा भारी गिरावट आएको छ । जे होस्, खर्च जोगिएको छ ।
खल्तिमा दाम नभएको मात्र हो, तर तपाईं लखपती नै हो क्या । मान्नुस् क्या । अरे मान्नुस् न यार । मान्दैमा तपाईंको के जान्छ र ? होइन र ? हो अब तपाईं खुशी हुनुस् । दुःखी त अरुले बनाइहाल्छन् नि ।
ए, साच्ची त, सहरमा दिनहुँ दौडिरहँदा धुवाँधुलोले तपाईंलाई बिरामी बनाएको छैन । तपाईंलाई गलाएको छैन । प्रदूषण घटेको छ । तपाईं थप केही बर्ष बाँच्नु हुन्छ । हो । अझ ठूलो कुरा त तपाईं यो लेख पढ्दै हुनुहुन्छ । ज्यान नै त ठूलो कुरा हो नि । लाख मात्र होइन, करोड बचाउनुभयो । यो करोडको हिसाब चाहिँ खै कस्ले निकालिसकेका छन् । नपत्याए त्यो हेर्नुहोला ।
Kiran Kumar @twitter