काठमाडौं । बंगलादेशमा सरकारविरोधी हिंसात्मक प्रदर्शनहरूका कारण प्रधानमन्त्री शेख हसीनले पदबाट राजीनामा दिँदै देश छाडेकी छन् । आरक्षणविरोधी विद्यार्थीहरूको प्रदर्शन उग्र बन्दै जाँदा प्रधानमन्त्री हसीनाविरोधी बन्न पुगेको हो । जसका कारण उनी देश छाड्न बाध्य भएकी हुन् ।
बंगलादेशका सेना प्रमुख वकार उज जमानले मिडियामा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । यससँगै बंगलादेशमा ठूलो संख्यामा परिचालन गरिएको छ ।
आइतबार भएको हिंसात्मक प्रदर्शनमा मात्रै कम्तिमा ९० जनाको मृत्यु भएको थियो । विद्यार्थीहरूको प्रदर्शनका क्रममा राजधानी ढाकालगायत बंगलादेशका थुप्रै स्थानमा हिंसात्मक झडप भएको थियो । त्यसको भोलिपल्ट हसीनाले देश छाडेकी हुन् ।
अधिकारीहरूका अनुसार आइतबार सिराजगंजमा हिंसात्मक प्रदर्शनका क्रममा कम्तिमा १८ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जना प्रहरी छन् । आइतबार सरकार समर्थक र सुरक्षाकर्मीहरूसँग प्रदर्शनकारीहरूको कयौँ स्थानमा हिंसात्मक झडप भएको थियो ।
सुरुवातमा आरक्षणको विरोधमा सुरु भएको यो प्रदर्शन अब सरकारविरोधी प्रदर्शनमा रुपान्तरित भएको हो । विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसीनाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरूले सविनय अवज्ञा आन्दोलन घोषणा गरेसँगै संकट गहिरिँदै जाँदा हसीना देश छाड्न बाध्य भएकी हुन् ।
आन्दोलनका क्रममा विद्यार्थीहरूले नागरिकहरूलाई कर तथा अन्य बिलको भुक्तानी नदिन अपिल गरेका छन् । उनीहरूले सबै फ्याक्ट्री तथा सार्वजनिक यातायात बन्द गर्न आह्वान गरेका थिए ।
सरकारविरोधी आन्दोलनको रूप लिएको प्रदर्शन
हिंसात्मक प्रदर्शन भड्किँदै जाँदा अब त्यसले सरकारविरोधी आन्दोलनको रूप लिएको हो । प्रदर्शनकारीहरूले सिधा रूपमै सरकार परिवर्तनको आह्वान गरिसकेका थिए ।
शनिबार ढाकामा हजारौँको भीडमा विद्यार्थी नेताहरूमध्येका एक नाहिद इस्लामले भनेका थिए- शेख हसीनाको राजीनामा मात्र होइन उनीविरुद्ध हत्या, लुट तथा भ्रष्टाचारको मुद्दा चलउनु आवश्यक छ ।
देशमा हिंसात्मक प्रदर्शन भड्किएपछि प्रधानमन्त्री शेख हसीनाले पनि त्यसबारे प्रतिक्रिया दिएकी थिइन् । उनले आगजनी तथा हिंसामा सहभागीहरू विद्यार्थीहरू नभएर आतंककारी भएको टिप्पणी गरेकी थिइन् । त्यसका बाबजुत आन्दोलन चर्किंदै जाँदा उनी देश छाडेर हिँडेकी हुन् ।
आइतबार राष्ट्रिय सुरक्षा समितिको बैठकमा हसीनाले अराजक तत्त्वलाई कडाइका साथ पछाडि धकेल्न पनि नागरिकहरूसँग आग्रह गरेकी थिइन् । उक्त बैठकमा हसीनासहित सुरक्षा सल्लाहकार, सेना, वायु सेना तथा जलसेनाका प्रमुख, अन्य मन्त्रालयका कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सुरक्षा सचिवलगायत सहभागी थिए ।
सरकारले सविनय अवज्ञा आन्दोलनको क्रममा आतंकवादी आक्रमण हुन सक्ने भन्दै चेतावनी दिएको थियो । सरकारको यस्तो चेतावनीका बीच आन्दोलनकारीहरू सरकारविरोधी आन्दोलनमा सहभागी भएका थिए ।
२०० भन्दा बढी व्यक्तिको मृत्यु
सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा दिइएको आरक्षणलाई लिएर गत महिना विद्यार्थीहरू सडकमा उत्रिए ।
सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेपछि पनि विद्यार्थीले आन्दोलन जारी राखेका छन् । विद्यार्थीहरूले मृतक र घाइतेहरूलाई न्यायको माग गरेका छन् । माग बढ्दै गएर आन्दोलनकारीले प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्न थालेका छन् ।
तर, हसिनाका समर्थकहरूले उनको राजीनामा अस्वीकार गरेका छन् । यसअघि प्रधानमन्त्री शेख हसिनाले हिंसा अन्त्य गर्ने इच्छा व्यक्त गर्दै विद्यार्थी नेताहरूसँग बिनासर्त वार्ताको प्रस्ताव राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘म आन्दोलनरत विद्यार्थीहरूसँग बसेर उनीहरूको कुरा सुन्न चाहन्छु । म कुनै द्वन्द्व चाहन्नँ ।’
तर आन्दोलनकारी विद्यार्थीले उनको प्रस्ताव अस्वीकार गरेका छन् । गत महिना, जुलाईमा भएको हिंसामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमध्ये धेरैलाई प्रहरीले गोली हानेको थियो ।
विगत दुई हप्तामा सुरक्षा बलहरूले गरेको ठूलो कारबाहीमा विपक्षी समर्थक र विद्यार्थी प्रदर्शनकारीहरू सहित करिब १० हजार मानिसहरूलाई हिरासतमा लिइएको बताइएको छ ।
बीबीसी हिन्दीबाट भावानुवाद