यदि तपाईं यो ब्लग पढ्न सुरु गर्दै हुनुहुन्छ भने अवस्य पनि यसको शीर्षक पढ्नुभयो होला– एकपटक होइन दुईपटक ! या त्योभन्दा पनि बढी । या पढ्नु नै भएन । जे पनि हुनसक्छ ।
अचेल खासगरी मिडियामा अलि उट्पट्याङ टाइपको शीर्षक राख्ने चलन छ, दर्शक, श्रोता अनि पाठक तान्नको लागि । अझ युट्युबतिरको कुरा अझ चर्को छ । तपाईं त्यो आरोप मलाई पनि लगाउन सक्छुहुन्छ ।
पख्नुस् है ‘ह्याँ के चाहिने नचाहिने गफ दि’रा हो ? सुईं सुईं लेख्नु नि, भो पढ्दिन यो ...’ भनेर पढ्न छाड्न लाग्नु भएको होइन ? त्यसो नगर्नुस् ।
०००
मलाई परेन आँफैलाई यो प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला, ‘तपाईंले कहिले जिन्दगीलाई पछिल्तिर फर्किएर हेर्नुभएको छ ?’
छ होला र छैन होला पनि । तपाईंको व्यस्तताले निर्धारण गर्ने भयो यो । असाध्य धेरै व्यस्त हुनुहुन्छ भने कहिले काहीँ खाएको र नखाएको पनि सम्झनु हुन्न होला ! विगतलाई सम्झने कुरा ! यसको त कल्पनै नगरौं ।
तर, मेरो विश्वास के हो भने तपाईं त्यति धेरै व्यस्त हुनुहुन्न, किनकी खान पनि बिर्सने मान्छेले यो पढेर बस्दैन, यति कुरा त म पनि जान्दछु ।
उनीहरु धेरै व्यस्त हुन्छन्, सिर्फ व्यस्त ! न त्योभन्दा धेर न त्योभन्दा कम ! घरीघरी त यस्तो लग्छ उनीहरु आफ्नो व्यस्तता छाडेर एकछिन् जिन्दगी जीउन थाले भने यहाँ धेरै कुरा रोकिन्छ ।
उनीहरुलाई डिस्टर्ब गर्नु त भएन नि !
त्यही भएर जिन्दगीलाई पछिल्तिर फर्किएर हेरौं भन्ने भन्ने आग्रह तपाईंको लागि हो अनि मेरो लागि मात्र हो । व्यस्तहरुलाई त यस्ता कुरा गर्ने या भन्ने फुर्सद पनि हुन्न ।
०००
हो हामीले जिन्दगीमा धेरै कुरा छाडेर यहाँ आइपुगेका छौं । विकास भयो भनेर पन्छिन पनि मिल्ला तर हामीले अनुभव गरेको जीवन अब अर्को पुस्ताले अनुभव गर्न पाउने छैन ।
कसरी ?
हामी दिनप्रतिदिन विकसित हुँदैछौं, यसलाई हामीले चाहेर पनि रोक्न सक्दैनौं । मलाई व्यक्तिगत रुपमा लागेको कुरा के हो भने केही कुराहरु त्यहीँ रोकिनु पर्दथ्यो, तर रोकिएन । हामीले रोक्नै सकेनौं ।
किन यस्तो भयो तपाईंलाई थाहा छ ?
मेरो विचारमा हाम्रो गति र विकासको गतिमा तालमेल मिलेन । हामीले नचाहँदा नचाहँदै विकासको वेग आयो र त्यो वेगले आफूसँगै बगाएर लग्यो दुनियाँमा अब कहिल्यै पनि नपाईने कुराहरु । हामीले आफूलाई विकास गर्न सकेनौं र विकासले हाम्रो अस्तित्व लुट्यो ।
विकास भनेको हवा जस्तो पो रहेछ, नभई पनि नहुने र हुन्डरी पनि आउनु नहुने । हाम्रो सन्दर्भमा भन्नुपर्दा मेरो विचारमा हामी विकासको हुन्डरीमा पर्यौं । किनकी हामी हाम्रो पछौटेपनको सहाराले मात्र विकास रोक्न सक्ने स्थितिमा थिएनौं ।
हामीले विकास गर्नुभन्दा पनि विकासले हामीलाई लतार्यो, हामी लतारियौं विकास सँगसँगै पुग्नका लागि । त्यसरी लतारिँदा हाम्रा धेरै पाटपुर्जाहरु काम नलाग्ने भएका छन्, हाम्रा मौलिकताहरु धुजा-धुजा भएका छन् । अनि हाम्रो स्वत्वमा गम्भीर संकट आइपरेको छ ।
तपाईं पत्याउनु हुन्छ यो कुरा ?
पत्याउने नपत्याउने तपाईंको स्वतन्त्रताको कुरा भयो मैले चाहीँ मेरो अनुभव साझा गरेको हुँ ।
एकजना समाजशास्त्रीले एकपटक भन्नुभएको थियो, 'हामीमा विकास हुनु नै थियो किनकी हामीले आफूलाई विकास नगर्न सम्भव नै थिएन । त्यसैले हामीमा यति विकास भएको हो ।'
मलाई यो कुरा गम्भीर लाग्यो । वास्तवमा हामीले विकासलाई कन्ट्रोल गर्न सकेनौ, जसका कारण यो अनियन्त्रित भयो । हाम्रा शासकहरूले त झन् विकासलाई व्यवस्थित गर्नबाट आफूलाई पटक-पटक चुकाए । हामीहरूले अहिले जे पाइरहेका छौं वास्तवमा त्यो उनीहरूको व्यवस्थित योजनाको प्रतिफल हो भनेर स्वीकार्न सकिन्छ ? तर, यो चाँही पक्का हो कि उनीहरु इमान्दार भइदिएको भए हाम्रो विकास अली व्यवस्थित हुन्थ्यो यति अस्तव्यस्त होइन ।
तर, यसो भनिरहँदा विकासका पक्षमा भएका इमान्दार प्रयत्नहरूलाई चट्टै विर्सिहाल्नु पनि अन्याय हुन्छ । तर, ती सीमित छन् ।
तपाईं पनि यस्तै ठान्नुहुन्छ ?
मलाई लाग्छ कि म विकासलाई निरपेक्ष रुपमा लिन्न । परिवर्तन हुनैपर्छ नभए विकास हुन्न भन्ने कुरा मलाई वास्तवमै एकांकी जस्तो लाग्छ । विकासका बारेमा गरिने यस्ता निरपेक्ष कुरामा मेरो समर्थन छैन ।
किन ?
किनकी मेरो विचारमा कतिपय यस्ता पक्षहरु पनि हुन्छन् जसलाई जहाँको त्यहीँ रोक्न सक्नु पनि विकास हो ।
जस्तै ?
जस्तै ... ! तपाईं आँफ्नो बाल्यकाल सम्झनुस् । अनि अहिलेका बालबालिका हेर्नुस् । अझ अब १०/२० वर्षपछिको बाल्यकाल हेर्नुस् । उदाहरण तपाईंकै वरिपरी छ, मलाई सोध्नै पर्दैन ।
म धेरै उतारचढाव पाउँछु यसमा । अहिलेका बालबालिका हामीजस्ता छैनन् । उनीहरुले थुप्रै कुरा पाएका त छन् तर धेरै कुरा गुमाएर । वर्तमानले एक दशकअघिभन्दा धेरै कुरा पाएको छ, तर, धेरै थोक गुमाएर ।
०००
तपाईंलाई आफ्नै केही अनुभव सुनाउँछु ।
अहिलेको तिहारमा खेलिने देउसी भैलो हेर्नुस् । तपाईंले आफूले बाल्यकाल गुजारेको तिहार र अहिलेको तिहार सम्झनुभयो भने आँफै अनुभव गर्नुहुन्छ यसको फरक पन । नढाँटी भन्नुस् त अहिलेको तिहार कति कृत्रिम छ ? र, अर्को कुरा तपाईंलाई तपाईंका पितापुर्खाले पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्नु भनी बढो जतनसाथ सुम्पिएको तिहार र त्यसको प्राचिन रौनक किन त्यही रुपमा आफ्ना सन्ततीहरुलाई सुम्पनुहुन्न ? तपाईं आफ्ना छोराछोरीलाई किन सिकाउनुहुन्न देउसिरे खेल्न ? हाम्रो देउसी भैलोमा के त्यस्तो खराबी थियो र जरैदेखि उखेलेर फाल्नुपर्ने ?
तपाईंलाई मेरो आग्रह छ यस वर्षदेखि तिहारमा मज्जाले देउसिरे खेल्नुहोला ।
आजभन्दा ८/१० वर्ष पहिले हामीले सुन्ने र खेल्ने देउसीमा साहित्यको बान्कीले मिहिन रुपमा बीट मारेको हुन्थ्यो । तर अहिलेको देउसीमा पास्चात्य अनुकरणको भद्दा लेप लगाइएको छ । चाँदीमा सुनको लेप पो उपयुक्त हुनसक्छ । तपाईंले त फलामको लेप लगाइदिनुभयो । र, यो विर्सनुभयो कि फलाममा खिया लाग्छ ।
विश्वास लागेन ? नलागेको भए घर गएको बेलामा आफ्ना अग्रजहरुलाई सोध्नुस् त देउसी कसरी खेल्नुहुन्थ्यो भनेर । यस वर्ष उहाँहरुलाई अनुरोध गरेर त्यही लयमा देउसी सुन्नुस् र त्यसको सौन्दर्य परख गर्नुस् ।
तर, अहिलेका बालबालिकाले त्यो अनुभव नै गर्न पाएनन् । उनीहरु पनि देउसी त खेल्छन् तर डेक बजाएर, मोबाइल बजाएर । यही अवस्था रहे देउसीलाई पुनर्परिभाषित गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
देउसी त एउटा उदाहरण न हो । अरु यस्ता हाम्रा अमूल्य नीधिहरु थिए, जसलाई हामीले संरक्षण गर्न सकेनौं र जानेनौं । फलस्वरुप हामी एकदमै बनावटी हुँदैछौं ?
त्यस्तै अर्को चिठी पनि हो ।
मोबाइलको आगमनसँगै गाउँगाउँमा आउने चिठीहरु पातलो हुँदै गए । अहिले त लगभग शून्य नै भइसकेको छ । तर, लामो समयसम्म खबरबाहक बनेको चिठी हराउनु पनि मेरो विचारमा हामीले गुमाएको महत्वपूर्ण सम्पत्ति हो ।
त्यस्तै हाम्रा धार्मिक र सांस्कृतिक उत्सव तथा पर्वहरुमा पनि प्रशस्तै विकृति भित्रीरहेको छ जसलाई हामी सहर्ष स्वीकारीरहेका छौं आधुनिकताको नाम दिएर ।
एउटा अर्को सम्झना सुनाउँछु, एकजना मित्रले मसँग दशैंमा निधारमा लगाउने टिकाका कारण चामलको नास हुने र त्यसको प्रयोग हुन नसक्ने बताए । मुलुकभर दशैंको टिकामा प्रयोग हुने चामलको परिणाम धेरै हुने र त्यसले थुप्रैको भोक मेट्न सकिने उनको भनाई थियो ।
तर, मेरा तिनै साथी दशैंको टिकामा अभिव्यक्त हुने आदर्श अंग्रेजी नयाँ वर्षको रौनकमा उनले गर्ने अनावश्यक र फजुल तडकभडकमा एकाएक हराउँछ । हो यही हो हाम्रो विडम्बना ।
हामीले विकासलाई नडोर्याई विकासले हामीलाई डोर्याएकाले हाम्रो ज्ञानको दायरा एउटा फ्रेममा खुम्चिन पुग्यो । हामी के सही के गलत छुट्याउन अर्काले खडा गरिदिएको मानकमा निर्भर रहन पुग्यौं ।
हामीलाई पुराण भन्ने पण्डितको टुप्पी भन्दा च्याम्पिएन्स लिग खेल्ने फुटबलरको हेयर स्टाइल मन पर्यो । हामीलाई ट्याटु मन पर्न थाल्यो । अहँ त्यसो होइन हामीलाई हाम्रो संस्कृति मन पर्न छाड्यो, हामीलाई आफू नै मन पर्न छाड्यो । हामी हामीहरूलाई मन नपराउने हामी हौं ।
हामीले स्वत्व गुमाउनु हुँदैनथ्यो, गुमाउँदैछौं । किन ? किनकि हामीले विकासलाई परिवर्तनका रुपमा मात्र बुझ्यौ । विकास भनेको त संरक्षण पनि हो भन्ने कुरामा हामीलाई पटक्कै विश्वास नै भएन ।
०००
हो हाम्रा सांस्कृतिक मूल्य मान्यताहरूमा प्रशस्त कमीकमजोरीहरू छन् । तिनलाई सुधार्नु आवश्यक छ । हाम्रा कमीकमजोरीहरूलाई हामीले नै सुधार्ने हो ।
हामीले हामीलाई सुधारेर मात्र हामी हामीलाई उन्नत बनाउन सक्छौं । तर, हामी के गरिरहेका छौं थाहा छ ? हामी हाम्रा संस्कृतिलाई सुधार्दै छैनौं वहिस्कार गर्दैछौं । त्यसैले हामी हामीलाई नै वहिस्कार गरिरहेका छौं ।
हामी हाम्रै विरोधमा छौं । वास्तवमा हामी दुनियाँकै 'झुर' मान्छे हौं जसमा स्खलित हुँदै गएको आफ्नो सभ्यता बचाउँनु पर्छ भन्ने चेतना एकदमै कमजोर र निरिह छ । हामी त्यसमा ज्यान भर्ने साहस राख्दैनौं ।
हामीले बाटो विराएकाले हाम्रा सभ्यता र संस्कृतिहरू समयानुकुल परिवर्तन हुन सकेनन् । केही सभ्यता र संस्कृतिहरू आधुनिकताका नाममा एकदमै अतिरञ्जित भए भने अर्काथरी भने उपेक्षाको सिकार बने । तीज, होली (फागु पूर्णिमा) तथा पितृ कार्यलाई यसका दुई फरक उदाहरणका रूपमा लिन सकिन्छ ।
०००
वास्तवमा हाम्रा आगामी पुस्तालाई हामीले हाम्रो संस्कृति त्यो रूपमा हस्तान्तरण गर्न सकेनौं जुन रूपमा गर्नुपर्ने थियो । या त हामीले त्यसको अन्धानुकरण गर्न सिकायौं या वहिस्कार गर्न । जसका कारण हाम्रो स्वत्वमाथि नै बारम्बार प्रश्नचिह्न उठीरहेको छ ।
अब तपाईं कल्पना गर्नुस् तपाईंको आगामी पुस्ताले या आगामी समयले गुमाउनै नहुने के के गुमायो ? हामीबाट कतिधेरै कुराहरू घटे जुन घट्नै नहुने थिए । या हामीमा थप विकृतिहरू कति भित्रिए ?
हुनसक्छ तपाईंका मनमा थुप्रै कुराहरु आएका हुनसक्छन् । मेरो मनमा जस्तै ।
त्यस्तो मात्र पनि होइन, तपाईंलाई यो कुरा मनै नपर्न पनि सक्छ । र, मन नपर्न पनि पाउँछ ।
कम्तीमा यति पढिदिनु भएकोमा धन्यवाद ।