भक्तपुर । भक्तपुरस्थित चाँगुनाराण मन्दिरको पहिलो प्रवेशद्वार छिरेपछि विभिन्न कलात्मक सामग्रीका पसल भेटिन थाल्दछन् । ढुंगा छापिएका सिढीँ उक्लिएर मन्दिर पुग्नुभन्दा थोरै अघि बाटो छेउका पसलका भित्ताका काठबाट बनाइएका देवि देवताका मुखडा अर्थात् मूर्तिहरू सजाइएका देख्न पाइन्छ ।
बाटोका दुवैतर्फ मूर्ति सजाइएको मात्र छैन पसल भित्रबाट केही ठोकठाक गरिरहेको आवाज बाटा हिँड्नेले प्रष्ट सुन्न सक्छन् ।
मन्दिर उक्लदै गर्दा म बाँया तर्फको एउटा पसलमा छिरें । असरल्ल छरिएका काठका टुक्राबीचमा एउटा काठमा आकृति भर्दै थिए- सिन्धुपाल्चोकका फुर्पा लामा ।
करिब १७ वर्षअगाडि एसएलसी दिएर क्याम्पस पढ्न काठमाडौं छिरेका फुर्पाको मन पुर्खाले गरिरहेको काम भएका कारण काष्ठकलामा गयो । पढ्दा-पढ्दै काठका आकृति बनाउने नशाले छोयो । फुर्पाको क्याम्पस छुट्यो । अहिले फुर्पा यही चाँगुनारायण मन्दिर परिसरमा काठमा मूर्ति कुँदिरहेका भेटिन्छन् ।
'यो काम गर्न थालेकै १६/१७ वर्ष भयो, पढाई त यतै लागेर छुटाईयो, तर पछुतो छैन ।' कामको कुरा कोट्याउँदा फुर्पाले पढाई सम्झिए ।
फुर्पाले यसरी काठमा खर्चेको श्रमले राम्रै आम्दानी दिएको छ । उनी महिनामा कम्तिमा ६० देखि ७० हजार रूपैयाँ कमाउँछन् । विदेशी पर्यटकले अर्डर गरे भने अर्डर अनुसारको काष्ठकलामा अझै राम्रो आम्दानी हुन्छ ।
तर, कोरोना भाइरसका कारण उनको दैनिकी पनि प्रभावित बनेको छ ।
उनलाई आफ्ना उमेरका युवा विदेशिएको कुराले पिर परेको छ, 'नपढे पनि सिप छ, ६०/७० हजार कमाकै छु किन जान पर्यो विदेश ? गर्न सके यही कमाईले पुगीहाल्छ । घर परिवार पालेकै छु । छोराछोरीको पढाई खर्च पुगेकै छ । रहरले गरेको काम हो अब कर छ तर खुशी छु ।'
काम र कमाइको सन्तुष्टिबारे सोध्दा उनले आत्मसन्तुष्टिपूर्ण स्वरमा भने ।
फुर्पासँगै छन् २५ वर्षका विनोद तामाङ । दोलखाका उनी पनि पढ्नलाई नै काठमाडौं छिरेका हुन् । तर उनी पनि यतै लागे ७/८ वर्षदेखि उनको व्यस्तता काठका मुर्ति बनाउनमै छ ।
तामाङ र फुर्पाको पसल छोडेर अलि माथि पुगें, मन्दिर भेटि नै लाग्दा बायाँतर्फको पसलमा धनबहादुर मोक्तान उस्तै व्यस्त छ्न् । भगवान गणेशको आकृती बनाउँदै थिए उनी । स्कुल पढ्दादेखि बावुबाजेले गरेको देखेर नै मूर्ति बनाउन सिकेका हुन्, धनबहादुरले ।
४५ वर्षका धनबहादुरको ६ जनाको घरपरिवार धान्ने पेशा यही हो । लहरे पिपल र उत्तिसको काठबाट धनबहादुरले हिन्दू धर्म र बौद्ध धर्मसँग जोडिएका भगवानका आकृतिहरु बनाउँछन् ।
एउटा आकृतिको मूल्य न्यूनतम १५ सयबाट सुरु हुन्छ । अर्डर अनुसार एउटै आकृतिमा हजार होइन लाख पनि कमाउन सकिन्छ ।
'मूल्य हेरी-हेरी हुन्छ । कच्चा सामान सस्तै हुन्छ । काठ सजिलै पाइन्छ, हामी आँफैले बनाएको साधारण मुखडालाई १५ सयदेखि सुरु भएर १०, १२ हजारमा बेच्न सकिन्छ । तर, विदेशीको अर्डर र प्रर्दशनीका लागि बनाइएको मा भने जति पनि कमाउन सकिन्छ । तर मेहेनत धेरै पर्छ अर्डर अनुसार कला भर्न र सजाउन पर्छ ।'
विशेषतः तामाङ जातिमा भैरब, बुद्ध, राक्षस तथा देविहरुका मूर्ति बनाउनु पुर्ख्यौली पेशा हो । नेपालका पुराना र ऐतिहासिक तथा विश्व सम्पदा क्षेत्रमा यसरी काठका मूर्ति बनाएर बेच्नेहरुले आफ्नो आम्दानी मात्रै नभइ सीप र मुलुकको सांस्कृतिक पहिचानलाई विश्व समुदायमा पुर्याएको ठान्छन् उनीहरु ।
आर्थिक रुपमा हुने आम्दानीबाहेक यसरी सीप बेचेर बाँचेकाहरुले पुर्ख्यौली पहिचानलाई पनि जोगाइराखेका छन् ।