पोखरामात्र नभई मुलुकभर सर्प उद्धारका लागि बिख्यात थिए महेन्द्र कतिला । प्राकृतिक प्रकृयाका लागि विश्वमा भएका सबै जीवको कुनै कुनै तरिकाले महत्व हुन्छ । एउटा मात्र जीव लोप हुँदा त्यसको असर अन्य जीवहरुले खेप्न परेको हुन्छ । यो कुरा उनले मजैले बुझेका थिए । त्यसैले लागेका थिए सर्प संरक्षणमा ।
पछिल्लो समय दाङ बस्दै आएका उनलाई कोराना संक्रमण भयो । उता उपचार नहुने देखेपछि उनलाई भरतपुरस्थित क्यान्सर अस्पताल लगिएको थियो । अन्तत कोरोनासँग उनी पराजित भए । क्यान्सर अस्पतालमै अन्तिम श्वास फेरे जेठ ३ गते सोमबार ।
उपचारमा धेरै खर्च लाग्ने भएपछि संरक्षणकर्महरुले आइतबारदेखि सामाजिक सञ्जालबाट आर्थिक सहायता जुटाउन पहल थालेका थिए ।
उनले नेपालका विभिन्न भागमा गएर सर्प उद्धार गरी तिनलाई प्राकृतिक वासस्थानमा छोड्ने गर्थे । उनी सर्प उद्धार मात्र हैन, तिनको संरक्षणको लागि विद्यार्थी र गाउँलेहरूलाई समेत सचेतना जगाउँदै आएका थिए । उनको छत्रछायाँ थुप्रै युवाहरू सोही काममा स्वयंसेवक भएर काम गरिरहेका छन् ।
सरकारले सर्पको अनुसन्धान र संरक्षणमा सहयोग नगरेकोमा उनी पछिल्ला दिनमा निकै रुष्ट समेत थिए । उनी भन्थे, ‘अहिलेसम्म खल्तीको पैसा खर्च गरेर मानव र सर्पबीचको द्वन्द्व कम गराउने काम गरिएको छ । सरकारले पनि आर्थिक रूपमा सहयोग गर्नु पर्ने हो, तर गर्दैन ।’
जस्तोसुकै समस्या परे पनि उनी अनवरत रूपमा लागिरहे कर्ममा । सर्प संरक्षक उनलाई धेरैपटक सर्पले टोकेको पनि छ । सर्पले टोकेकै कारण उनी ३ पटकसम्म अस्पताल भर्ना भएका थिए । तर पनि उनको सर्प मोह सकिएन । पछिल्लो समय दाङ बस्थे र त्यहाँ पनि सर्प उद्धार गरिरहन्थे। उनी सर्प संरक्षणका समाजका अध्यक्ष समेत थिए l
सर्पले टोक्दा प्रयोग गरिने एन्टीभेनम बनाउनका लागी उनले यो सस्थाको परिकल्पना गरेका थिए l देश भरिका सर्पमा रुची राख्ने संरक्षणकर्मीहरुलाई चितवनमा भेला गरेर सो योजना बारे जानकारी समेत गराएका थिए l
केहि महिना अघिको भेटमा महेन्द्र कतिलाले भनेका थिए, ‘सर्पलाई बचाउन पाउँदा जुन आत्मसन्तुष्टि पाइन्छ त्यो अरूबाट पाउँदिन । सर्प समाउन जाँदा मानिसले हाम्रा कुराहरू सुन्छन् पनि । सर्पको फाइदाबारे स्थानीय समुदायलाई भन्न पाउँदा खुसी लाग्छ ।’
सर्प संरक्षण समाजका सदस्य एवं संरक्षणकर्मी ऋषि बरालले उनको मृत्युपछि दुखी हुँदै फोनमा भने, ‘म स्तब्ध छु, अस्तिमात्र दाइसँग कुरा भएको थियो । सर्प उद्धारको क्षेत्रका अगुवा गुमाएका छौँ ।’ बरालका अनुसार कतिलाले करिब २ हजार ५ सयदेखि ३ हजार सर्पहरूको उद्धार गरेका छन् ।
पोखरा ३ मा जन्मेका उनी मुलुककै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पस स्ववियुका पूर्व सभापति हुन् । तर उनी राजनीतिभन्दा पनि संरक्षणतिरै बढी केन्द्रित रहे ।
यो सामग्री इ-नेचर न्यूज डटकमबाट लिइएको हो ।